लाखौं नेपालीलाई रोजगारी दिने कतारका राजालाई नेपालमा स–सम्मान स्वागत छः रवि लामिछाने

काठमाण्डु टुडे २०८१ वैशाख ११ गते १२:१७ मा प्रकाशित

काठण्माडु, ११ वैशाख– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कतारी राजाको भ्रमणका क्रममा सार्वजनिक बिदा दिने सरकारी निर्णय विवादमा परेको विषयमा प्रष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तीन दशकदेखिका अभ्यासलाई सच्याउन समय लाग्ने बताए । विगतका कयौं निर्णय र परम्परालाई नीतिगत निर्णय गरी सच्याउनुपर्ने उल्लेख गरे । ‘अनावश्यक बिदा, भिआइपी सवारीका नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरूलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु,’ लामिछानेले लेखेका छन् ।

विधि नफेरी कुनै व्यक्ति देश वा घटना हेरेर फरक–फरक निर्णय गरिनु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ । ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो । हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ । धेरै काम हुदैछन् । थोरै धैर्य गरिदिनु भए पुग्छ,’ उनले भनेका छन् ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका क्रममा आज नेपाल आउँदैछन् । उक्त अवसरमा सरकराले सार्वजनिक बिदा दिएको हो ।

विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको लाखौं नेपाली युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कूटनीतिक सम्बन्ध स्थापित भएको मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा स–सम्मान स्वागत गरिने लामिछानेले बताए ।

लोकतन्त्रमा देशका नेतालाई नागरिकले आफ्ना कुरा भन्न पाउनुपर्ने उल्ल्ेख गर्दै उनले चासोका साथ प्रश्न र खबरदारी गर्नेप्रति आभार व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us