ओलीलाई देउवाको प्रश्नः मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ?

काठमाण्डु टुडे २०८१ वैशाख १० गते १७:२४ मा प्रकाशित

काठमाण्डु, १० वैशाख– कांग्रेस सभापति शेरबहादुर देउवाले मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्या भएको दासढुंगा प्रकरण छानबिन गरी सत्यतथ्य बाहिर नल्याएको भन्दै एमाले अध्यक्ष केपी ओलीसँग आक्रोश पोखेका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार एमालेले गोदावरीमा गरेको कार्यक्रममा देउवाले मदन भण्डारीको रहस्यमय मृत्युको कारण खोजिनुपर्ने बताए ।

‘मदन भण्डारीजस्तो व्यक्तित्वको बारेमा राम्रै कुरा गर्ने इच्छा थियो । अहिले आएर उहाँहरूले कांग्रेसलाई गर्नुसम्म गाली गर्नुभयो । मैले जवाफ दिनुपरिहाल्यो । मलाई गाली गर्नेहरूले मदन भण्डारी किन मर्‍यो किन भन्न सक्दैन ?’, उनले भने, ‘मदन भण्डारी मारेको कुरा खोजबिन हुनुपर्‍यो, भण्डारीको रहस्मय घटनबारे छानबिन गर्न कसले रोकेको छ ? कांग्रेसले रोकेको हो, कसले रोकेको छ ?’

देउवाले विद्या भण्डारी राष्ट्रपति र ओली दुईपटकसहित एमाले नेताहरु पटकपटक प्रधानमन्त्री हुँदा पनि भण्डारीको दुर्घटनाबारे पत्ता लगाउन नसकेको उल्लेख गरे । ‘आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गर्ने ? मदन भण्डारीको हत्यारा को हो ? अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उनको चालक पनि मारियो । कसले मार्‍यो पत्ता लागेको छैन । मदन भण्डारी राम्रो नेता हो । यसमा दुई मत छैन । उहाँको हत्याबारे अहिलेसम्म किन पत्ता लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला । गर्नुस् केही छैन । आफ्नो पनि कुरा भन्नु पर्‍यो नि ।’

एमालेका तत्कालीन महासचिव भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो । भण्डारीसँगै एमाले संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us