तीनपटकसम्म प्रचण्डले भनेः म यसपटक केपी ओलीजीलाई विश्वास गर्न चाहन्छु

काठमाण्डु टुडे २०८१ वैशाख १० गते १५:४७ मा प्रकाशित

काठमाण्डु, १० वैशाख– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई आफूले विश्वास गर्न चाहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित हीरक महोत्सव कार्यक्रममा प्रचण्डले ओलीले आफूले विश्वास गर्न चाहेको बताए । उनले आफूले ओलीलाई विश्वास गर्न चाहेको कुरा तीनपटकसम्म भनेका थिए ।

मन्त्रिपरिषद बैठक लम्बिएका कारण आउन केही ढिला भएको भन्दै उनले ओलीले कार्यक्रममा प्रसारण गरिएको समीक्षात्मक भिडियोमा खासै नकारात्म्क टिप्पणी छैन भनेकामा आफूलाई विश्वास लागेको उनको भनाइ थियो ।

‘कमरेड केपी ओलीले भिडियो क्लिपमा त्यस्तो नकारात्मक टिप्पणी खासै गरिएको छैन भन्नुभयो’, उनले भने, ‘हामी हिजो विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रेका छौं । म केपीजीलाई विश्वास गर्न चाहन्छु ।’

उनले वामपन्थी शक्तिबीचको सहकार्यले मुलुकमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको र फाटो आउँदा नोक्सान भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us