भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिव पोखरेलको प्रस्ताव

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १८:३० मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– एमाले महासचिव शङ्कर पोखरेलले आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि कार्यकर्तासँग कम्तीमा एक सय रुपैयाँ उठाउन प्रस्ताव गरेका छन ।

आज (शनिबार)बाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको प्रतिनिधि परिषद् बैठकमा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले पार्टी महाधिवेशनले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने योजना अघि सारे पनि हालसम्म निर्माण कार्य अघि नबढेको बताएका छन् ।

हाल प्रतिष्ठानको भवनमा पार्टी कामको अनुकूलता हुने गरी पुनर्संरचना गरी कार्यालय सञ्चालन गरिएको बताउँदै उनले अब आफ्नै जमिनमा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्नुपर्ने प्रस्ताव पेश गरेका छन ।

पोखरेलले भनेका छन्–‘त्यसका लागि सदस्यता नवीकरण र विस्तारका क्रममा प्रत्येक सदस्यबाट न्यूनतम १ सय रुपियाँ सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्दछ । थप सहयोग गर्न सक्ने र चाहनेहरूको रोस्टर तयार गरी कार्यालय भवन निर्माण सम्बन्धी बैङ्क खातामा जम्मा गर्न लगाउनुपर्दछ ।’

उनले हरेक तहका कमिटीहरूले यस कामलाई आगामी कार्ययोजनाको विषय बनाएर अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । २०७२ सालमा गएको भूकम्पले काठमाडौँको बल्खुमा रहेको एमाले कार्यालय भत्काएपछि एमालेले अहिलेसम्म केन्द्रीय कार्यालय बनाएको छैन । हाल ललितपुरको च्यासलमा रहेको तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानलाई केन्द्रीय कार्यालयको रूपमा प्रयोग गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us