कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकियो

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– यस बर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल हुने गुनासो आएपछि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाण्डु उपत्यकाका १४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो ।

काठमाण्डुका ५१३ विद्यालयका नियमिततर्फ ५९ हजार १६७ र आंशिकतर्फ ५ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयका विद्यार्थी फरक सेन्टरमा छरिएर राख्ने गरी सफ्टवेयरबाटै केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ ।

यसअघि धेरै विद्यार्थी भएको विद्यालयको विद्यार्थी तीन वटा केन्द्रसम्म राख्ने गरेकोमा यसपाली ९ वटासम्म केन्द्र निर्धारण भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार हरेक विद्यालयमा परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्या, विद्यालय र केन्द्रको गुगल म्यापबाट लिएको दूरी, विद्यालयबाट नजिक पर्ने केन्द्र, एक विद्यालयको परीक्षार्थी संख्या कम्तीमा १०० र २०० भन्दा बढी एकै केन्द्रमा नपर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ ।

परीक्षा केन्द्र निर्धारण गरिएको अर्को आधार आफ्नै विद्यालयमा केन्द्र नहुने, दुई विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्कामा पर्न नहुने, एकै स्वामित्व र व्यवस्थापनको भनी पहिचान भएका केन्द्रमा नपर्ने बनाइएको परीक्षा बोर्डले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us