गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । मृत्यु हुनेमा ५८ वर्षका महले घर्ती रहेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका– १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले जानकारी दिएका छन ।

आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us