इरानविरुद्ध इजरायलको जवाफी हमलालाई अमेरिकाले समर्थन नगर्ने

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १२:३८ मा प्रकाशित

 

एजेन्सी– अमेरिकाले इजरायलले इरानविरुद्ध जवाफी हमला गरे त्यसको समर्थन नगर्ने जनाएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यस्तो बताएका हुन् ।

शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा इरानले हमला गरेको थियो ।

इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी राष्ट्रहरू अमेरिका र बेलायतले आकाशबाटै खसालेको बताएका छन ।

यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयम अपनाउन भनेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन ।

कुराकानीका क्रममा बाइडेनले नेतान्याहुलाई निकै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न आग्रह गरेको अधिकारीहरुले जानकारी दिएका छन । इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो ।

इजरायलमाथि आक्रमण गर्न इरानले प्रहार गरेको करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको अमेरिकाको दाबी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us