
काठमाण्डु, २० चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताएका छन ।
उनले भने, ‘संविधानको पनि यहाँ धेरै कुराहरु भए । यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ, ‘यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरु पनि छन् ।’ उनले अहिले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको बताएका छन । उनले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भइ र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताएका छन ।
उनले भने, ‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिल्कुल होइन । यो कुरा सबैले बुझ्ने नै कुरा छ । यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमान्दार भएर केही जोखिम, केही चुनौति देख्दा९देख्दै पनि चालिएको कदम हो ।’
समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जन सकिने बताए । उनले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको पनि बताएका छन ।
उनले भने, ‘पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ । हाम्रो जिम्मेवारी छ की, यो संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी छ ।’