
काठमाण्डु, २० चैत– कर्णाली प्रदेशको नेतृत्वका विषयमा एमाले र माओवादी नेताहरुबीच भएको छलफलमा अझै सहमति हुन सकेको छैन । करिब ५ घण्टादेखि मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफल जारी छलफलमा सहमति जुटेको छैन ।
प्रदेशको नेतृत्व एमालेलाई दिने सत्ता गठबन्धनको केन्द्रीय निर्णय विपरीत विश्वासको मत लिन लागेका मुख्यमन्त्री शर्मालाई मनाउन उनकै पार्टीका नेताहरू बिहानैदेखि छलफलमा रहेका छन ।
छलफलकै बीचमा दिउँसो साढे १ बजे नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल र प्रदेश इन्चार्ज लेखराज भट्ट बैठकमा सहभागी भएका थिए । करिब २ घण्टाको छलफल पछि जारी बैठकबाट एमालेका नेताहरू बाहिरिएका हुन् । मुख्यमन्त्री निवासबाट बाहिरिँदै गर्दा नेता कँडेलले छलफल जारी रहेको र निशकर्षमा पुगी नसकेको जानकारी दिएका छन ।
एमाले नेताहरू बाहिरिएपछि मुख्यमन्त्री निवासमा पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरू पुनः पुगेका छन । माओवादी नेताहरू बिहान ११ बजेदेखि मुख्यमन्त्री निवासमा छलफल गरिरहेका छन् ।