आयरल्यान्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० चैत १९ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १९ चैत– ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्यान्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ ।

आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाउन सपल भएको थियो । नेपालका आरिफ शेख ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनमा नट आउट भएका थिए ।

कमलसिंह ऐरी ७ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाउन सफल भएका थिए । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए ।

बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए । पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए । राशिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए । आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १–१ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us