प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाण्डु टुडे २०८० चैत १५ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, १५ चैत– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् ।

अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको उनले जानकारी दिएका छन । उनले भने, ‘प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ ।

एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन् । ’

आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको पनि उनले जानकारी दिएका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us