‘बा र भगवान’ प्रश्न भन्दा माथि: महामन्त्री थापा

काठमाण्डु टुडे २०८० चैत १५ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, १५ चैत– कांग्रेस महामन्त्री गगन थापाले अरु दलका शीर्ष नेता प्रश्न भन्दा माथि भएपनि कांग्रेसमा त्यस्तो नभएको दाबी गरेका छन । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको नाम नलिइकन उनीहरु प्रश्न भन्दा माथि रहेको उनले बताएका छन ।

संवाद यात्रा पुनः सुरु गरेका महामन्त्री थापाले नवलपरासीमा विहीबार बोल्ने क्रममा यस्तो बताएका हुन । उनले कांग्रेसमा सभापतिलाई प्रश्न उठाउन सकिने बताएका छन ।

उनले भने, ‘नेकपा एमाले कस्तो पार्टी बन्यो, हेर्नुस् त पार्टीको अध्यक्षलाई कसैले पनि प्रश्न गर्ने नपाउने । पार्टीको अध्यक्ष बा मुनि मात्रै अरु हुने । बा प्रश्न भन्दा माथि ।’ रास्वपाका सभापति लामिछानेलाई संकेत गर्दै थापाले नयाँ पार्टीमा अध्यक्ष भनेको भगवान् जस्तै रहेको बताएका छन । थापाले भने,‘भगवनालाई चाहिं प्रश्न गर्न नपाउने ।

भगवानले ठगेपनि हुने । भगवानले लुटेपनि हुने । भगवान चाहिं प्रश्न भन्दा माथि ।’ कांग्रेसमा प्रश्न भन्दा बाहिर कोही नरहेकाले छलफल र बहस गर्न पाइने महामन्त्री थापाले बताएका छन ।

पार्टीभित्र समस्याहरु रहेको उल्लेख गर्दै थापाले एउटा अधिवेशनदेखि अर्को अधिवेशनसम्म तुष राख्ने प्रवृत्ति उचित नरहेको उनले बताएका छन । पार्टीभित्र गुटको अन्त्य गर्न र पार्टी सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन महासमिति बैठकमा विभिन्न विकल्पको प्रस्ताव गरेको बताएका छन ।

उनले पार्टीमा टिकट वितरण प्रणाली परिवर्तन गर्नुपर्ने महामन्त्री थापाले बताएका छन । उनले . इलाम र बझाङको उपनिर्वाचनमा आएका नामहरुबाट उम्मेदवार छनोट गर्न कठिन रहेको बताएका छन । कांग्रेसको विधान अनुसार एक महिलासहित तीन जनाको मात्र सिफारिस गर्न पाउने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us