प्रदेशमा पनि सत्ता गठबन्धनलाई समर्थन गर्ने नाउपाको रञ्जिता पक्षको निर्णय

काठमाण्डु टुडे २०८० चैत १४ गते १५:५३ मा प्रकाशित

काठमाण्डु, १४ चैत– नाउपाले एमाले–माओवादी र रास्वपासहितको गठबन्धनलाई केन्द्र सहित प्रदेशसम्म समर्थन गर्ने निर्णय गरेको छ । आज बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नाउपाका एक नेताले जानकारी दिएका छन ।

संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिएका छन । २१ जना केन्द्रीय सदस्य मध्ये आजको बैठकमा १२ जना सहभागी थिए ।

प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको उनले जानकारी दिएका छन । यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us