कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८० चैत १ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, १ चैत– कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेको बताइएको छ ।

महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन ।

मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिएका छन । नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए ।

मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिएका छन ।

उनीहरुको शव पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको पनि उनले जानकारी दिए । अरब टाइम्सले भने महाबुल्ला क्षेत्रको सडक दुर्घटनामा दुई जना नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको जनाएको छ ।

एउटा शवको सुरुमा पहिचान नखुले पनि पछि कम्पनीसँग सम्पर्क गर्दा उनी पनि नेपाली नै रहेको पुष्टि भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us