ओलीको टिप्पणी: प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने माधव नेपालको कुरा हास्यास्पद

काठमाण्डु टुडे २०८० फागुन १६ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको भन्दै टिप्पणी गरेका छन् ।

आज (बुधवार)  सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले माधव नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरूले ताली बजाएकोमा आफूलाई अचम्म लागेको बताएका छन ।

संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनी अध्यक्ष ओलीले प्रश्न गरे । उनले संविधान, कानुन कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको जिकिर समेत गरेका छन ।

त्यस अवसरमा अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने पनि घोषणा गरेका छन । अध्यक्ष ओलीले एमालेलाई ठुलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरूको कुनै पनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us