
काठमाण्डु, १५ फागुन– त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाउन सफल भएको थियो । लोफ्टी इटनले १०१ रन बनाए ।
त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडेका छन् । मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।