
काठमाण्डु, १३ फागुन– आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सले नेपाललाई ८ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो ।
यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।
डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाउन सफल भएका थिए । यस्तै साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाउन सफल भएका थिए । यो जोडीले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए ।
नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन नसक्दा तेस्रो हार बेहोरेको हो । नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ’डाउडले २६ बलमा २८ रन बनाएका थिए ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिन सफल भएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९।३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।