नेदरल्यान्ड्समाथि नामिबियाको रोमाञ्चक जित

काठमाण्डु टुडे २०८० फागुन ११ गते १७:४४ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आज शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्समाथि २४ रनको रोमाञ्चक जित निकालेको छ । जारी प्रतियोगितामा नामिबियाको यो तेस्रो जित हो ।

काठमाण्डुको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१।३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाउन सफल भएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने ४३.५ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रनमात्र बनाउन सक्यो ।

निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४५–४५ ओभरमा खेलाइएको थियो । नामिबियाका लागि जन निकोल लफ्टी एटनले ४९ रन बनाए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा दुई छक्का र ६ चौका पनि प्रहार गरेका थिए । ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि टोलीको खातामा ३९ रन थपे । उनले ४८ बलमा पाँच चौका हिर्काए ।

जन फ्राइलिंकले ३४ रन बनाएका थिए । उनले ५७ बलमा चार चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान जेन ग्रिनले टोलीको खातामा २२ रन थपे । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरेका थिए ।

रुबेन ट्रम्पलम्यानले अविजित २३ रन बनाए । नामिबियाले अतिरिक्त रुपमा पनि १३ रन पायो । नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले तीन विकेट लिए । आर्यन दत्त र रेलोफ भान डेर मर्वेले दुई–दुई विकेट हात पारे ।

सारिज अहमद र बास डे लिडले पनि एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि नोच क्रोएसले अविजित ४६ रन बनाए । ओपनर म्याक्स ओ’डडले ४१ रन जोडे ।

बास डे लिडले २४ रन बटुले । नेदरल्यान्ड्सलाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बलर जेरहार्ड एरास्मस र जन फ्राइलिंकले तीन–तीन विकेट लिए । बेनार्ड स्कोल्जले पनि दुई विकेट हात पारे । जन निकोल लोफ्टी एटन र रुबेन ट्रम्पलम्यानले पनि एक–एक विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us