निर्णायक खेलमा नेपालको ‘ए’ टोलीले क्यानडालाई दियो १८२ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० फागुन १० गते १३:०९ मा प्रकाशित

काठमाण्डु, १० फागुन– नेपालले तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाउन सफल भएको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रन बनाएका थिए । यस्तै आशुतोषले २८ रन बनाए । उनले ४३ बलको सामना गरी पाँच चौका प्रहार गरेका थिए ।

अर्जुनले पनि टोलीको खातामा २७ रन थपे । उनले ५३ बलमा दुई चौका प्रहार गरेका थिए । कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।

तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल भने खाता खोल्नुअघि नै आउट भएका थिए । रासिद खानले टोलीको खातामा १९ रन थपे । उनले २५ बलमा एक चौका प्रहार गर्न सफल भएका थिए ।

सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले । बसिर अहमदले पनि २५ रन बनाए । बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरेका थिए । प्रतिस जिसीले २० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन बनाउन सफल भएका थिए । हेमन्त धामीले ६ रन बनाए । नेपालले अतिरिक्त रुपमा १२ रन पायो ।

क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले पनि एक–एक विकेट लिएका थिए । तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ ।

तेस्रो खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई दुई विकेटले पराजित गरेको थियो । यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए । उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us