
काठमाण्डु, ९ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दु राष्ट्रको मागसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
आज (बुधवार) राप्रपाका नेताहरू प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको राप्रपाका एक नेताले जानकारी दिएका छन ।
राप्रपाको पहिलो मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था रहेको छ । त्यस्तै दोस्रो मागमा सर्व धर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु अधिराज्य र प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने माग रहेको छ ।
यस्तै राप्रपाले प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार – केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने तेस्रो माग अघि सारेको छ । राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने संवैधानिकरकानुनी व्यवस्था लगायत राप्रपाका माग रहेका छन् ।