जब विद्या भण्डारीले पूर्वराष्ट्रपति भएको बिर्सिएर प्रचण्ड र देउवालाई गाली गरिन्…

काठमाण्डु टुडे २०८० फागुन ७ गते १९:०९ मा प्रकाशित

काठमाण्डु, ७ फागुन– विद्या भण्डारी पूर्वराष्ट्रपति हुन् । पूर्वराष्ट्र प्रमुखको भूमिकामा रहेकी भण्डारीले सोमबार आयोजित एक कार्यक्रममा विवादित अभिव्यक्ति दिएकी छन् ।

उनले आफू पूर्वराष्ट्रपति भन्ने समेत बिर्सिए एमाले उपाध्यक्षको हैसियतमा बोलेकी छन् । ०७२ मा पहिलोपटक राष्ट्रपति चुनिनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । एमाले नेताका रुपमा उनलाई कसैमाथि दोषारोपण गर्ने र आफ्नो पक्षको महिमा मण्डन गर्ने छुट छ, तर मुलुकको अभिभावकीय जिममेवारीमा रहेकी विा भण्डारीलाई त्यो छुट छैन ।

हुन त पदमा बहाल छँदै उनले राष्ट्र प्रमुखको तटस्थ भूमिकामा नरही एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीको ‘कारिन्दा’ का रुपमा काम गरेको आरोप लागेको थियो । ओलीले दुईपटकसम्म संसद विघटन गर्दा उनले साथ दिइन् । सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक र स्वेच्छाचारी भन्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको थियो । यस्तै संसद छलेर पटकपटक आफ्नो स्वार्थअनुकुल अध्यादेश ल्याउने ओलीको कदममा पनि भण्डारीले सहयोगी भूमिका खेलेकी थिइन् ।
सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै भण्डारीले अप्राकृतिक गठबन्धनमार्फत देश चलाइएको टिप्पणी गरिन् ।

उनको संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवातर्फ थियो । देशमा हिंसा मच्चाउनेहरुको सरकार रहेको आरोप भण्डारीले लगाइन् । हिंसाको दुस्चक्रमा मुलुकलाई फसाउनेहरु नै अहिले सरकारको नेतृत्वमा सरकाले जनतालाई न्याय हुन नसक्ने तर्क उनको थियो । उनले संक्रमणकालीन न्यायको काममा ढिलाई हुनुमा हिंसाबाट आएकाहरु दोषी रहेको बताइन् ।

छोराको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै अनसन बस्दा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंकार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था उजागर गर्ने उनले उल्लेख गरिन् । जबकि उनले उक्त विषय नेकपा एकीकरण हुँदा र दुई कार्यकाल राष्ट्रपति भएका बेला कहिल्यै उठाउन जरुरी ठानिनन् ।

‘हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने तत्कालीन सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नतृत्वमा रहेको अवस्थमा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् ?’, उनले प्रश्न गरिन् । भण्डारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा कमजोर बनाउने प्रयत्न विफल पार्न लाग्नुपर्नेमा जोड दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us