
काठमाण्डु, ७ फागुन– वर्तमान सरकारका दुई मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा चर्काचर्की भएको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाबीच विवाद भएको हो ।
बालकुमारी घटना चाँजबुझ आयोगको प्रतिवेदनका विषयलाई लिएर दुईमन्त्रीबीच विवाद भएको प्रधानमन्त्री कार्यालय श्रोतले बतायो । सरकारद्वारा गठित आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा बालकुमारी घटनामा गोली चल्दा दुई युवकको मृत्यु हुनुमा मन्त्री ज्वालाको मुख्य कमजोरी रहेको उल्लेख छ । गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरिरहेका बेला ज्वाला सोही बाटो भएर आउने क्रममा युवाले उनी सवार गाडी जलाएका थिए । उक्त घटनापछि प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गयो ।
सरकारले उक्त घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको थियो ।