
काठमाण्डु, २९ माघ– आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले १९ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता गरेको विधेयक सोमबार सर्वसम्मत पारित भएको हो । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सरकारले विधेयक ल्याएको हो ।
स्वास्थ्यका जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले विधेयक ल्याइएको शिक्षामन्त्री राईले जानकारी दिएका छन ।
विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।