फिल्म ‘ऊनको स्वीटर’को पहिलो पोस्टर सार्वजनिक

काठमाण्डु टुडे २०८० माघ २३ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, २३ माघ–आर्टमान्डूको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’को पहिलो पोस्टर आज मंगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन्। पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन् । अभिनेत्री मिरुना गुरुङ पोसाकमा सजिएकी छन् ।

फिल्ममा विपीन र मिरुना मुख्य भूमिकामा छन्। विपीन र मिरुनासँगै फिल्ममा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकार फाइनल भइसकेका छन् ।फिल्मलाई निर्देशक नवीन चौहानले निर्देशन गर्नेछन्।

पटकथा पनि चौहानकै रहेको छ । फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। फिल्ममा अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन् । फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् । गत वर्षको असारमा फिल्मको घोषणा ‘ऊनको स्वीटर’को टाइटल गीतबाट गरिएको थियो ।

टाइटल गीतको पूरा भर्सन भने आगामी भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक गरिने निर्देशक चौहानले जानकारी दिएका छन । यो फिल्म मंसिरबाट फ्लोरमा जाने भनिए पनि प्राविधिक कारण मिति सरिरहेको थियो। अब फिल्म वैशाखबाट फ्लोरमा जाने निर्देशक चौहानले जानकारी दिएका छन । फिल्मको छायाँकन पाँचथरमा हुनेछ ।

कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल फिल्ममार्फत् लोकप्रियता हासिल गरेको आर्टमाण्डूले तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us