
काठमाण्डु, १७ मंसिर– प्रहरीले बाँकेमा अफिम र चरेससहित एक दम्पत्ती पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर–८का ४० वर्षीय रेवन्त राना र उनकी ३३ वर्षीया श्रीमती कविता थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
अफिम र चरेससहित श्रीमान– श्रीमतीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जनाकारी दिएका छन । शनिबार राति पौने ९ बजे कोहलपुर नगरपालिका–८ पिपिरीबाट उनीहरुलाई पक्राउ गरीएको उनले बताए ।
उनीहरूले लागु औषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट टोली खटिएको थियो। त्यसक्रममा प्रहरीले बा ५ च ८२१५ नम्बरको कारलाई रोकेर चेक गरेको थियो। उक्त कारबाट १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद भएको डिएसपी डाँगीले जानकारी दिएका छन ।
रेवन्त र कवितामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ देखि २५ लाखसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ।