
काठमाण्डु, १६ मंसिर– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन । उनले सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताएका छन ।
आज शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले यस्तो बताएका हुन । उनले सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न नहुने बताएका छन ।
उनले भने, ‘आदरणीय सभापतिले ५/५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शीरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरु या आउ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले भन्न सक्नुपर्छ’ ।
कांग्रेस सभापतिको शालीनता र सहृदयी भावनाका कारण त्यो दिन पनि आउने अपेक्षा गरेको महामन्त्री शर्माले बताएका छन । लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा, गगन थापा र नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदैमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए । शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान गौतम वुद्धको आशिर्वाद माग्न चाहेको बताएका छन ।