

हुम्ला, ५ मंसिर– हुम्लामा एक किशोरी मृत फेला परेकी छन् ।
खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडा मुस्याडीस्थित कर्णाली नदी किनारमा किशोरीको शव फेला परेको हो । हुम्ला प्रहरी प्रवक्ता नरेन्द्र चन्दका अनुुसार अन्दाजी १६ वर्षीया किशोरीको शव सडिसकेको अवस्थामा भेटिएको छ ।
खार्पुनाथ गाउँपालिका–२ थालीका देवराज रावलकी छोरी १६ वर्षीया सुजाता केही समयदेखि सम्पर्कविहीन थिइन् । शव उनकै भएको आशंका प्रहरीले गरेको छ ।
छात्राबासमा बसेर नाम्खास्थित महाबौद्ध माध्यामिक विद्यालयमा पढ्दै आएकी सुजाता गत ११ असोजमा सिमकोट–६ स्थित अफन्तको घरमा गएकी थिइन् । कसैलाई खबर नगरी भोलिपल्टै त्यहाँबाट हिंडेकी उनी त्यसयता सम्पर्कविहीन थिइन् ।
किशोरीका परिवारले हराएकाले खोजबिन गरिदिन भन्दै १३ असोजमा हुम्ला प्रहरीमा निवेदन दिएका थिए ।