

काठमाण्डु, ४ मंसिर– टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सोमबार सुनुवाइ नहुने भएको छ ।
टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुने भएको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।
सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिएका छन ।
गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा दुवै खाले प्रतिक्रिया आएका थिए । कतिपयले प्रतिबनध ठीक छ भनेर सरकारी निर्णयको प्रशंसा गरिरहँदा अधिकांशले भने टिकटकमाथि प्रतिबन्ध नभई नियमनको खाँचो रहेको औंल्याएका थिए ।
सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए । ती रिटमाथिको सुनुवाइ सोमबारका लागि तोकिएको थियो ।