

काठमाण्डु,२ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल निष्पक्ष हुन नसकेको आरोप लगाएका छन । आज (शनिबार) एमाले पार्टी मुख्यालय च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन ।
उनले अहिले पनि राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको आरोप लगाएका हुन् । भूकम्पपछि प्रधानमन्त्री र गृहमन्त्री माओवादीको प्रतिनिधिको रुपमा जाजरकोट पुगेको भन्दै ओलीले राष्ट्रपति पौडेल पनि जाजरकोटमा कांग्रेस छुट्यो भनेर आफैं गएको टिप्पणी गरेका छन । उनले भने , ‘राष्ट्रपति किन जानुभएको ? कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नु नै भएको थियो ।
कति घर भत्कियो भनेर सुन्नुभएकै थियो । कति के भयो भन्ने सुन्नुभएकै थियो । त्यो भन्दा अगाडि नै खबर आइसकेको थियो–नेताहरुको भिडले, नेताहरुको चाकडीमा सेना, प्रहरी खटनुपर्दा त्यहाँ उद्धार गर्न पाईएन भन्ने आएकै थियो । उहाँहरु अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरु उहाँहरुलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने ।
बिरामीको उपचार छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्यो राष्ट्रपतिज्यू रु उहाँ राष्ट्रपति भएर त्यहाँ जानुभएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो’ । राष्ट्रपति निर्वाचित भएको एक वर्ष नपुग्दै राष्ट्रपतिले पक्षधरता देखाएको भन्दै ओलीले तनहुँमा दिएको अभिव्यक्तिले पनि कांग्रेसप्रति नरम देखिएको बताएका छन ।