
काठमाण्डु,२ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रूपमा तयार हुनुपर्ने बताएका छन ।
आज (शनिबार) पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । ७ मङ्सिरमा दुर्गा प्रसाईँसहितका व्यक्तिहरूले काठमाण्डुमा वृहत् जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न खेजेको प्रति सङ्केत गर्दै उनले भने, ‘व्यवस्थामाथि नै चुनौती दिने कुरा स्वीकार्य छैन ।’
आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धिहरूको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । उनले भने, ‘संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौँ, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौँ ।’ उनले ०६२–६३ को जनआन्दोलनअघि पनि जनता राजनीतिक दलको साथमा नरहेको हौवा पिटिएको भन्दै आफूले नेतृत्व गरेको तत्कालीन एमालेले नै जनताको शक्तिलाई गाउँ गाउँमा गएर परिचालन गरेको फलस्वरूप जनआन्दोलन सफल भएको पनि उनले बताएका छन ।
उनले भने, ‘फेरि पनि व्यवस्थामाथि चुनौती खडा भए हामी जनतामा जान्छौँ ।’ उनले ७ मङ्सिरकै दिन एमालेले पनि आफ्नो युवा सङ्घमार्फत प्रदर्शनको कार्यक्रम तय गरिएकोलाई अध्यक्ष नेपालले गलत भएको बताएका छन् । भर्खरै चीन सरकारको निमन्त्रणामा त्यहाँका विभिन्न भूभागको भ्रमणका क्रममा चीन सरकारले गरेको स्वागत र सत्कारको उनले प्रशंसा गरे ।
‘म यसअघि प्रधानमन्त्री हुँदा र पार्टी नेताकै हैसियतले चीन जाने गरेको थिएँ, तर यति महत्वका साथ स्वागत गरिएको थिएन ।’ उनले उक्त स्वागतलाई आफ्नो पार्टीप्रति चीन सरकार र त्यहाँको कम्युनिस्ट पार्टीले दिएको महत्वका रूपमा बुझ्नुपर्ने पनि बताएका छन ।