प्रहरीलाई आक्रमण गरेको आरोपमा लप्सीफेदीबाट १४ जना पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर २ गते १२:३२ मा प्रकाशित

काठमाण्डु,२ मंसिर– प्रहरीले काठमाण्डुको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै १४ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् ।

शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको र झडपमा संलग्न भएका १४ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएका छ ।

सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक ९डिएसपी०को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय भएको थियो ।

सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो । तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका काठमाण्डु प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।

स्थानीयको आक्रमणबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । शंखरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us