प्राधिकरणले विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काट्यो

काठमाण्डु टुडे २०८० कार्तिक २५ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, २५ कातिक– नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको प्रधिकरणले जानकारी दिएको छ ।

लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ रहेको पनि प्रधिकरणलले जनाकारी दिएको छ ।असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् ।

यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको प्रधिकरणले बताएको छ । मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् ।

उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ । यस्तै कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् ।

उक्त ग्राहकहरूको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज मातहतका वितरण केन्द्रहरूले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् ।

उनीहरूको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ । लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरूले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ ।

बागमती प्रादेशिक कार्यालय, काठमाडौँ मातहतको वितरण केन्द्रहरूले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ ।

बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ । बागमती प्रदेश डिभिजन कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रहरूले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरूले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् ।

बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ । कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us