
काठमाण्डु, २१ कातिक– प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा अनुगमनका लागि जाने तयारी गरेका छन् ।
समिति सभापति रामहरि खतिवडाले भोली बुधबार बिहान ९ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्ने र पीडितहरूको अवस्था, राहत वितरण तथा स्वास्थ्य अवस्था आदीको अध्ययन गरी सरकारलाई निर्देशन दिने योजना रहेको जानकारी दिएका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फोन गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समिति घटनास्थलमा जाओस् भन्ने चाहना राखेको सभापति खतिवडाले जानकारी दिएका छन ।
संसद्को अधिवेशन नभएकोले संसदीय समितिको बैठक बस्न कोरम नपुग्ने समस्या लगायतका कारण भूकम्प प्रभावित क्षेत्रमा संसदपनि पुगोस् भन्ने उद्देश्य सभामुखले राखेकोले घटनास्थलमा पुगेर अध्ययन गर्न लागिएको उनले जानकारी दिएका छन् ।
सभापति खतिवडाले सो क्षेत्रमा जाने ९ जना सबै सांसदहरुको टिकटको व्यवस्था गरिसकेका छन् । सुर्खेतसम्म विमानमा गएर त्यहाँबाट भूकम्प प्रभावित क्षेत्रमा गएर राहत वितरणको अवस्था के छ, स्वास्थ्यको अवस्था के छ, के गर्नुपर्ने त्यसबारेमा अनुगमन र अध्ययन गरेर सरकारलाई निर्देशन दिने सभापति खतिवडाले बताएका छन ।
समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने पनि बताएका छन् । अनुगमनमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत जाने उनले बताएका छन ।