जबर्जस्ती भिडियो खिच्ने पत्रकारलाई काउन्सिलको सोधपुछ

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १८:२४ मा प्रकाशित

काठमाण्डु, २० कातिक– प्रेस काउन्सिल नेपालले जबर्जस्ती भिडियो खिचेको आरोपमा एक पत्रकारलाई सोधपुछ गरेको छ । आज सोमबार पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै काउन्सिलले स्पेस फोके टिभिका पत्रकार कपिल शाहीलाई सोधपुछ गरेको छ ।

शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाज समेत उठेको थियो ।

काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौँ उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए ।

उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गरेका छन ।

काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने टिभी र युट्युव च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us