एमालले कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १२:५८ मा प्रकाशित

काठमाण्डु, २० कातिक– आज (सोमबार) बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट भएको एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन ।

एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए । तर आज बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको भण्डारीले जानकारी दिएका छन ।

उनले भने, ‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं, दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं’ । समर्थन कहिलेसम्म ? भन्ने प्रश्नमा उनले सरकारको काम कारबाही र परिस्थिति हेरेर निर्णय गर्ने बताएका छन ।

सोमबार कार्यसूचीमा रहेको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने र संसदको प्रमुख प्रतिपक्षमा बस्ने एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us