काठमाण्डु, १९ कातिक– शुक्रबार जाजरकोट केन्द्रबिन्दु भए। गएको भूकम्पका कारणले नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पर सरेको छ । मंसिर १३ देखि १५ सम्म गर्ने गरि केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यसम्पादन समितिले संशोधन गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आइतबार विहान बसेको कार्यसम्पादन समितिले मंसिर २९ देखि पुस २ गतेसम्म गर्ने गरि महा समिति बैठकको मिति तोकेको छ ।
भूकम्पले निम्त्याएको संकट र पूर्व निर्धारित समयमा हल प्राप्त नभएकाले बैठक सार्नु परेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन । ‘औपचारिक कार्यक्रमहरु तिहारअघि नगर्ने भनिसकेपछि महासमितिसँग जोडिएका थुप्रै कामहरु प्रभावित हुने भयो,’ विश्वकर्माले भने,‘हल प्राप्त गर्न प्राविधिक कठिनाई देखियो ।’
महासमिति बैठकका प्रतिनिधि चयन बाहेकका पार्टीका औपचारिक कार्यक्रम तिहार अघि नगर्न पार्टीले शनिबार मातहतका संरचनामा सर्कुलर गरेको थियो । पार्टी नेताहरुका अनुसार महासमितिका लागि तिन ठाउँलाई प्राथमिकतामा राखेर हल खोजिएको थियो । भृकुटीमण्डप, यलम्बर पार्टी प्यालेस र गोदावरी सनराइज सम्मेलन केन्द्र मध्ये एक स्थानमा बैठक गर्न सकिने गरि पार्टीमा छलफल भइरहेको थियो ।
सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा महासमिति बैठक राख्ने पक्षमा थिए । उक्त स्थान २५ कातिकसम्म बुकिङ भइसकेकाले उपलब्ध हुन सकेन । महासमिति बैठकमा लागि पूर्व निर्धारित समयमा सबै स्थानको बुकिङ भइसकेकाले हल प्राप्त नभएको पार्टीभित्र जानकारी गराइएको थियो । नीति प्रतिवेदन तयार गर्ने प्रमुख व्यक्ति उपसभापति पूर्णबहादुर खड्का भूकम्पपीडित जिल्लाहरुमा खटिन परेकाले पनि महासमिति बैठक पर सार्नु परेको नेताहरुलाई बताएका छन् ।
सरकारका उपप्रधानमन्त्री समेत रहेका खड्काको गृह प्रदेशका जिल्ला ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । कर्णालीका दुई जिल्ला जाजरकोट र रुकुम पश्चिम भूकम्पले सर्वाधिक प्रभावित बनेको छ । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने विधानको व्यवस्था अनुसार नीति प्रतिवेदन पेश गर्ने अधिकार खड्कालाई छ । १३ गतेदेखि महासमिति बैठक सुरु गर्न मंसिर पहिलो सातामा केन्द्रीय समिति बैठक बस्नुपर्ने तर त्यस समयमा केन्द्रीय समिति बैठक आव्हान सम्भव भएन ।