
काठमाण्डु, १० असोज–एमाले सचिव एवं सांसद् योगेशकुमार भट्टराईले सरकारी उच्च ओहोदामा आसिन व्यक्तिहरु अनावश्यक रुपमा विदेश भ्रमण गएरहेको बताएका छन् ।
जसका कारण मुलुकको साधारण खर्च बढेको उनले बताए । बुधबार संसदको सार्वजनिक लेखा समिति बैठकमा भट्टराईले पछिल्लो छ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्री विदेश भ्रमणमा गइरहेका आरोप लगाए ।
कोभिड–१९ महामारी अगाडिभन्दा अहिले सरकारका प्रधानमन्त्री, मन्त्री र कर्मचारीको विदेश भ्रमण बाक्लो भइरहेको टिप्पणी उनको थियो । शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने संस्कृति देखापरेको आरोप उनले लगाए । पछिल्लो एक वर्षयता सरकारका अधिकारीहरुका विदेश भ्रमणको औचित्यबारे समितिले छलफल गर्नुपर्ने माग उनले राखे ।
‘शाखा अधिकृत, उपसचिव, सहसचिवले सहभागिता जनाउन मिल्ने कतिपय कार्यक्रमहरूमा स्वयम् मन्त्रीहरू उपस्थित हुने, सचिवहरू जाने तीन दिनको कार्यक्रममा विदेशमा गएर आफ्नो आफन्त भेट्ने काम भएको छ । यसले गर्दा अत्यधिक रूपमा साधारण खर्च बढिराखेको छ’, भट्टराईले भने ।