
काठमाण्डु, १० असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा बढी सफल भएको बताएका छन् ।
ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासले बुधबारगरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बनाएका हुन् ।
आफूले भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीन भ्रमण कस्तो होला भन्नेबारे अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेको बताए । भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको उनको दाबी छ ।
राष्ट्रपति सी चिनफिङसँग सौहार्दपूर्ण छलफल भएको र नेपालको हितमा विभिन्न समझदारी हुनुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टि भएको प्रचण्डले बताए ।
भ्रमणका क्रममा नेपाल र चीनबीच विगतमा बन्द भएका सबै नाका संचालन गर्ने, परम्परादेखि पासका रूपमा चल्दै आएका सानासाना नाकाहरू पनि सबै स१चालन गर्ने सहमति भएको जानकारी उनले दिए ।
नेपाल र चीनबीच सबै नाका खुलेपछि व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने दाबी उनको थियो । अघिल्लोपटक ल्हासा भ्रमण गर्दा नेपाली महावाणिज्य दूतावासको भवन पुरानो रहेकोमा अहिले नयाँ भवन बनेको देखेर खुसी लागेको भन्दै नयाँ भवनको उपयोग गर्दै नयाँ उत्साहका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
कार्यक्रममा ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपाल चीन सम्बन्धमा ल्हासाको भूमिका र महत्व, महावाणिज्य दूतावासले गरिरहेको काम तथा अब गर्नुपर्ने महत्वपूर्ण कामहरू र भोगिरहेको समस्या लगायत विष्यमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।