
काठमाण्डु, ८ असोज– कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएलगत्तै सरकारका काम प्रभावकारी बनाउन दबाब दिने भएको छ ।
सोमबार सकिएको काँग्रेस केन्द्रीय समिति बैकठले उक्त निर्णय गरेको महामन्त्री गगन थापाले बताए ।
थापाका अनुसार संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण र जनजिवीकाका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय भएको थापाले बताए । ‘संविधान कार्यान्वयनका लागि कानूनहरु बनेका छैनन् । कानुन बनाउन सरकारले पहल गर्नुपर्छ’, बैठकपछि थापाले भने, ‘जनजीविकाका सवालबारे र आर्थिक संकटका बेला फजुल खर्च नगर्न पनि प्रधानमन्त्री र सरकारलाई आग्रह गर्ने निर्णय भयो ।’
काँग्रेसले अघिल्लो केन्द्रीय समिति बैठकले सरकारसँग माग गरेका विषयमा प्रगति नभएको निस्कर्ष निकालेको छ । यस्तै सुशासन, सेवा प्रवाह र जतालाई राहतका विषयमा प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताए ।
यस्तै काँग्रेसले प्रदेशमा मन्त्रालय थप नगर्न र संघीय सरकारमा जथाभावी सल्लाहकार राखेर फजुल खर्च वृद्धि नगर्न पनि सरकारलाई दबाब दिने भएको छ ।
यस्तै काँग्रेसले आफ्नै मन्त्रीहरुका कामकारबाही पनि सन्तोषजनक नरहेको निस्कर्ष निकालेको छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि सरकार जनस्तरबाट आलोचित भएको बताए ।
सरकार मूल्यवृद्धि नियन्त्रण गर्न, आर्थिक अवस्था सुधार्न तथा शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप विश्वकर्माले लगाए ।