सामाजिक सञ्जाल दर्ताबारे सञ्चारमन्त्रीः हामीलाई हेपेर बोले, चुप लागेर बस्न सकिँदैन

काठमाण्डु टुडे २०८२ असार १० गते १६:०३ मा प्रकाशित

काठमाण्डू, १० असार– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनीहरूले नेपाललाई हेपेको र अब सरकार सधैँ मौन बस्न नसक्ने बताएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । मन्त्रालयले पटक–पटक दर्ताका लागि आह्वान गर्दा पनि अटेर गरेको र सम्पर्क गर्दा अपमानजनक व्यवहार गरेको भन्दै मन्त्री गुरुङले आक्रोश समेत व्यक्त गरेका छन ।

विभिन्न माध्यमबाट सामाजिक सञ्जालका प्रतिनिधिहरूसँग सम्पर्क गर्दा उनीहरूले उल्टै नेपाललाई होच्याएर बोलेको मन्त्री गुरुङको भनाइ छ। ‘हामीलाई हेपेर बोल्ने, ‘तिमीहरूको देशमा सोसल मिडियामा नियमन गर्ने विधेयक पनि छैन’ भनेर आलोचना गर्ने स्थिति आयो,’ मन्त्री गुरुङले भने, ‘त्यही कारणले हामीले अब चुप लागेर बस्न नसक्ने निर्णय लिएका हौं ।’

मन्त्री गुरुङले नेपालको कानुन नमान्ने र सरकारलाई अटेर गर्नेहरूलाई सधैँ छुट दिन नसकिने स्पष्ट पारे । ‘नेपालको कानुन नमान्ने, नियम नमान्ने र सरकारसँग सम्पर्क नगर्नेहरूलाई सधैँ मानिराख्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘त्यसको व्यवस्थापन हामी गर्छौँ ।’

यस समस्याको स्थायी समाधानका लागि सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउन लागेको उनले प्रस्ट पारे। विधेयक पारित भएपछि सबै सामाजिक सञ्जाल नेपालमा दर्ता हुन र यहाँको कानुन मान्न बाध्य हुने उनको विश्वास छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us