
काठमाण्डू, १० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरुबिच भेटवार्ता भएको छ ।
सिंहदरबारमा दुई दलबीच सरकारले हिजो गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समिति, समाजवादी मोर्चालाई अगाडि बढाउनेबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी गराएका छन ।
प्रचण्डले भने, ‘अहिले सदनमा भइरहेको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अब कसरी अगाडि बढाउने र दुई दलबिचको सम्बन्धको बारेमा सामान्य छलफल भएको छ। गम्भीर विषयमा होइन।’ प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अन्तिम समयसम्म प्रयास गरिरहेको र अझै गर्ने पनि बताएका छन ।
यता सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको समितिप्रति भने रास्वपा र राप्रपाले अस्वीकार गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले वैरागी नेतृत्वको छानबिन समिति कुनै पनि हालतमा स्वीकार नहुने बताएका हुन् । उनले भिजिट भिसाका नाममा भएको बदमासी गम्भीर प्रकृतिको भएको भन्दै वैरागी नेतृत्वको छानबिन समितिले काम गर्न नसक्ने दावी गरे ।
उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा संसदीय छानबिन समिति गठन आवश्यक भएको बताए । ‘शंकरजीप्रति मेरो व्यक्तिगत आग्रह छैन। विगत १० वर्षदेखि स्थायी सत्तापक्षको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्र सचिव बन्नु भयो ।
तीन वर्ष मुख्य सचिव हुनुभयो । रहस्यमय ढंगले मुख्यसचिवबाट बहिरगमन हुनुभयो । शंकर दास वैरागी स्वार्थको द्वन्द्वबाट झेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ सक्षम निकायहरूको रडारमा हुनुहुन्छ। सक्षम निकायहरूको रडारमा रहेका व्यक्तिले कसको छानबिन गर्ने ?’