भिआईपीले नियमविपरीत राखेका चालक र पिएसओ फिर्ता गर्न निर्देशन

काठमाण्डु टुडे २०८० असोज ४ गते १६:२७ मा प्रकाशित

काठमाण्डु, ४ असोज– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले मापदण्डविपरीत विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले प्रहरी तथा सशस्त्र प्रहरीका पिएसओ, सवारी चालक र भान्छेलाइ १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

भीभीआइपी तथा भीआइपीहरुलाई प्राप्त हुने सुविधा बाहेकका अन्य मापदण्डबिपरित राखिएका पिएसओ, सवारी चालक र भान्छे १५ दिनभित्र फिर्ता गरी साबिक दरबन्दी भएका स्थानमा खटाउन निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

यस्तै बैठकले मन्त्री, सचिव तथा अन्य सरकारी अधिकारीले नियमले पाउनुभन्दा बढी सवारी साधन प्रयोग गरेको भए पनि फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै बैठकले बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खोल्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको सभापति खतिवडाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us