
काठमाण्डु, १ असोज– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रैबाट आफूहरुलाई सरकारबाट हटाउने खेल भइरहेको बताएका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले अमेरिकी सहायता परियोजना (एससिसी) को विरोध गरेर आफूहरुलाई सरकारबाट फाल्दिने खेल भइरहेको बताए । नेपालले आफ्नो दलको अडानकै कारण एमसीसी परियोजना अनुमोदन गर्दा संसदले १० बुँदे व्याख्यात्मक घोषणा गरेको दाबी उनको थियो ।
उनले केही मानिस एमसीसीविरोधी गति गाएर पार्टीलाई सरकारबाट बाहिर निकाल्ने षड्यन्त्रमा लागेको आरोप लगाए । एमसिसीको विरोध गरेकै कारण वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले देशव्यापी बन्ने टिप्पणी पनि गरे ।
उनको संकेत सम्मानित नेता झलनाथ खनालतर्फ थियो । खनालले लगातार एमसीसी परियोजनालाई राष्ट्रघाती भन्दै आएका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले मुलुकको स्वाभाविमान र स्वाधिनता तथा असंलग्न परराष्ट्र नीतिमा असर गर्ने सम्झौता गरेको भन्दै उनले व्याख्यात्मक घोषणामार्फत नेपालको हात माथि पार्ने काम गरिएको जिकिर गरे ।
‘केहीकेही पार्टीहरूले केही थप्नु पर्दैन । यसमा कुनै कुरा संशोधन र परिमार्जन गर्नुपर्दैन, यथास्थितिमा पास गर्नुपर्छ भनेका थिए’, नेपालले भने, ‘यदि हामीले त्यसलाई व्याख्यात्मक घोषणाको रूपमा थप्ने काम नगरेको भए एमसिसी यथास्थितिमा पास हुने थियो । नेपालको हात तल पर्ने थियो । नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने हुन्थ्यो । हामी आफ्नो अडान प्रस्तुत गर्ने हैसियतमा हुने थिएनौं । हाम्रै पार्टीको पहलकदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर स्वाभाविमानको रक्षा गरेका छौं । असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौं,’ उनले भने ।