नेम्वाङको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

काठमाण्डु टुडे २०८० भदौ २८ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– प्रतिनिधिसभाले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उनको सम्मानमा एक मिटेन उठेर मौन धारण गरिएको थियो ।

‘नेपालको वर्तमान संसद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँको देहावशानको यस दुःखद घडीमा प्रतिनिधिसभाको यो बैठक सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ सभामुख घिमिरेले बैठकमा शोक प्रस्ताव पढेर सुनाएका थिए ।

त्यसअघि राष्ट्रियसभाले पनि बिहीबार नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङको सोमबार हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।

उनको बिहीबार पशुपति आर्यघाटमा हिन्दु र मुन्धम परम्पराअनुसार राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us