उपत्यकामा चट्याङसहित वर्षात हुने

काठमाण्डु टुडे २०८० भदौ २८ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि अपरान्हपछि काठमाण्डु उपत्यका क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

यसअघि गएराति उपत्यकासहित आसपासका जिल्लामा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको थियो ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताए । यस्तै भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका कारण नेपालमा अझै केही दिन वर्षात हुने उनले जानकारी दिए ।

बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू९भागमा आंशिक बदली रहने महाशाखाले अनुमान गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन९चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us