नेपाली युवतीको भारतमा हत्या, भारतीय सेनाका कर्णेल पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २८ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, २८ भदौ–एक ३० वर्षीया नेपाली युवतीको भारतमा हत्या भएको छ ।
हत्या अभियोगमा भारतीय सेनाका एक कर्णेल पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल ४२ वर्षीय रामेन्दु उपाध्यायलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको हो ।

पण्डितवाडी निवासी उनलाई प्रहरीले मंगलबार म्याद थपका लागि अदालतमा हाजिर गरायो ।

अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार बिहान देहरादुनस्थित प्रहरी कार्यालय नजिकै सडक छेउको ढलमा युवतीको शव भेटिएको थियो ।

घटनाको ७२ घण्टापछि मृतकको बुधबार पोस्टमार्टम गरिएको छ । मृतक श्रेया शर्मा भनिने सुमित्रा घर्ती भएको भारतीय प्रहरीले जनाएको छ । उनको नेपालस्थित ठेगाना तनहुँको भानु नगरपालिका–६ चिसापानी भएको बुझिएको छ ।

प्रहरीका अनुसार विवाहका लागि दबाब दिएपछि युवतीको आफूले हत्या गरेको बयान दिएका छन् । शनिबार राति युवतीसँगै मदिरा पिएको र गाडीमा राखेर एकान्त जंगलमा लगी हत्या गरेको उनको भनाइ छ ।

मदिरामत्त अवस्थामा युवतीलाई जंगलमा लगेर रातिको समयमा अथौडाले हानेर हत्या गरेको साबिती बयान कर्णेल उपाध्यायले दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us