सुवास नेम्वाङको अन्तिम बिदाईः प्रचण्डले राष्ट्रिय झण्डा र ओलीले पार्टीको झण्डा ओढाए

काठमाण्डु टुडे २०८० भदौ २८ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो रसुहाङले दागबत्ती दिएका थिए । उनको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । नेम्वाङको ७१ वर्षको उमेरमा २६ जेठमा हृदयघातबाट निधन भएको थियो ।

मंगलबार र बुधबार उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि एमाले कार्यालय च्यासलमा राखिएको थियो । त्यहॅाबाट धार्मिक संस्कारका लागि बुधबार अपराह्न बालुवाटारस्थित निवासमा लगिएको थियो ।

अन्त्येष्टिअघि बालुवाटारबाट आर्यघाटसम्म भएको शवयात्रामा हजारौं सहभागी थिए । शवयात्रा बालुवाटार हुँदै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । एमाले अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाए ।

नेम्वाङप्रति श्रद्धासुमन अर्पण गर्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसहित काँग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्क्ष राजेन्द्र लिङदेन, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति थियो ।
नेम्वाङको निधनमा सरकारले आज देशभर शोक बिदा दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us