
काठमाण्डु, २८ भदौ– उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको मृत्यु भएको छ ।
चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार अपराह्न ना४ख ६१८३ नम्बरको ट्रकले बस्नेत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । बस्नेत बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख हुन् ।
जिल्ला प्रहरी कार्यालय पुगेर चौकी फर्कने क्रममा उक्त घटना भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
प्रहरीले ठक्कर दिने ट्रकसहित चालक चालक विशाल परियारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको उदयपुर प्रहरीका सूचना अधिकारी डिएसपी उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।