लिबियामा बाढीमा परेर मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

काठमाण्डु टुडे २०८० भदौ २७ गते १९:४१ मा प्रकाशित

एजेन्सी– अफ्रिकी मुलुक लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ ।

बाढीमा परेर मर्नेको संख्या ५ हजार ३ सय पुगेको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । धेरै मानिस बाढीमा फसेका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

सामुद्रिक आँधी डेनियलका कारण लिबियाको देरना शहरमा भिषण बाढी आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देरनाबाट १२ किलोमिटर परको बाँध भत्किएपछि बाढी सहर पसेको बताइएको छ ।

बाढीका कारण सयौं घर भत्किएका छन् । घर भत्किएका र गाडी बगेका तस्बिर र भिडियो सामाजिक सञ्जालहरुमा अपलोड गरिएका छन् ।

यसैबीच अमेरिकासहित इजिप्ट, जर्मनी, इरान, कतार, टर्कीलगायत देशले खाद्यान्न, लत्ताकपडा औषधिसहितका राहत सामग्री लिबिया पठाउन थालेका छन् ।

राजनीतिक अस्थिरता चुलिएका बेला भएको दैवी विपत्तिबाट पार पाउन लिबियालाई सकस पर्ने देखिएको छ । हाल लिबियामा दुईवटा सरकार छन् । दुवै सरकारले आफू आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us