
काठमाण्डु, २७ भदौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अभिभावकीय संस्थाका रुपमा राजतन्त्र फर्काउनुपर्ने बताएका छन् ।
राप्रपाले मंगलबार राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङदेनले अभिभावकीय संस्थाका रूपमा राजसंस्था स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरे । भारतमा भएको १२ बुँदे सम्झौताको बाटोमा अघि बढे मुलुक दुघृटनामा पर्ने जिकिर उनको थियो । लिङदेनले राजसंस्था र जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था मुलुकका लागि उपयुक्त हुने बताए । संघीयतामा भने आफूहरुको धेरै आपत्ति नरहेको उनले जनाए ।
‘तपाईंहरूमा देशप्रति माया छ, जनताप्रति माया छ र सुध्रन चाहनुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन । रक्तपात वा कुनै पनि विद्रोह नगरीकन सल्लाहबाट तपाईंहरू हिँडेको बाटो सच्याउनुस् । १२ बुँदे सम्झौताको भरिया बनेर आउनुभयो’, प्रमुख तीन दलतर्फ संकेत गर्दै उनले भने, ‘यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने कुरा तपाईंहरूलाई पनि लागेको छ । त्यो बाटो लगत हो भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ ।’
यस्तै उजले अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गरे । गाई, गोरु मार्छु भन्नेहरूलाई सरकारले नरोक्ने हो भने सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खलबल पार्ने काम हुने बताए । उनले त्यस्ता गतिविधिको आफ्नो दलले प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।
गिद्धसमेत मार्न नपाईने कानून भएको देशमा गाई मार्छु भन्नेलाई सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाए ।